Story
२१ असोज २०८३ मा रातोपाटीमा प्रकाशित प्रमुख कार्यकारी अधिकृतज्यूको विचार |
प्रसारण शुल्कको नयाँ खाका : एउटै दरको सट्टा तीन तहको मोडल किन आवश्यक ?
प्रसारण शुल्क भनेको विद्युत् उत्पादन केन्द्रबाट उपभोक्ता, उद्योग वा अर्को विद्युत् प्रणालीसम्म बिजुली पुर्याउन राष्ट्रिय प्रसारण सञ्जाल प्रयोग गरेबापत तिर्नुपर्ने शुल्क हो। यो एक हिसाबले बाटो प्रयोग गरेबापत ‘टोल’ रकम तिरेजस्तै हो, तर प्रसारण प्रणालीमा लाग्ने शुल्क निर्धारण विधि भने फरक छ।
विद्युत् प्रसारण प्रणाली निर्माण गर्न ठुलो पुँजी लगानी आवश्यक पर्छ। उच्च क्षमताका प्रसारण लाइन, टावर, सबस्टेसन, सञ्चालन, जग्गा तथा मार्गाधिकार (ROW), वातावरणीय व्यवस्थापन र मर्मतसम्भारमा निरन्तर खर्च हुन्छ। यीमध्ये धेरै खर्च विद्युत् उत्पादन भएको परिमाणसँग प्रत्यक्ष रूपमा घटबढ हुँदैनन्। प्रसारण लाइन निर्माण भएपछि त्यसलाई उपलब्ध अवस्थामा राख्नुपर्ने खर्च विद्युत् एक दिनमा धेरै बगे पनि वा कम बगे पनि रहिरहन्छ। यही कारण प्रसारण शुल्क निर्धारण गर्दा केवल एक युनिट बिजुली प्रसारण गरेको आधारमा मात्र शुल्क निर्धारण गर्नु पर्याप्त हुँदैन।
विद्युत् नियमन आयोगले 'राष्ट्रिय विद्युत् प्रसारण ग्रिडको प्रसारण शुल्क गणनासम्बन्धी मापदण्ड, २०८३' मार्फत प्रसारण शुल्क निर्धारण गर्ने आधार तय गरेको छ। आयोगबाट स्वीकृत व्यवस्थाअनुसार मध्यम तथा दीर्घकालीन विद्युत् प्रसारण सेवाका लागि प्रतिमेगावाट प्रतिमहिना ४ लाख १२ हजार ७ सय ५५ रुपैयाँ र अल्पकालीन सेवाका लागि प्रतिकिलोवाट घण्टा ५७ पैसा शुल्क निर्धारण गरिएको छ।
यी दुई शुल्क फरक एकाइमा छन् र यसो हुनु आफैँमा अस्वाभाविक भने होइन। दीर्घकालीन रूपमा प्रसारण प्रणालीमा क्षमता आरक्षण गर्ने वा प्रणालीको उपलब्धता सुनिश्चित गर्ने प्रयोगकर्ताबाट क्षमतामा आधारित शुल्क लिनु उपयुक्त हुन्छ भने छोटो अवधिमा वास्तविक रूपमा प्रसारित विद्युत्को परिमाणका आधारमा शुल्क लिनु बढी व्यावहारिक हुन्छ। तर, यी दरहरूबिचको आर्थिक प्रभावलाई नेपालका जलविद्युत् आयोजनाको वास्तविक उत्पादन प्रकृतिसँग जोडेर हेर्न भने आवश्यक छ।
यदि प्रसारण शुल्कको सम्पूर्ण भार विद्युत् उत्पादकमाथि मात्र राख्ने हो भने त्यसको सीधा असर नयाँ जलविद्युत् आयोजनाको लागतमा पर्छ। विशेषगरी नदी प्रवाहमा आधारित आयोजनाको उत्पादन वर्षभरि एउटै हुँदैन। वर्षायाममा नदीमा पानी बढी हुँदा उत्पादन उच्च हुन्छ, तर हिउँदमा पानीको बहाव घटेपछि उत्पादन पनि घट्छ। तर, आयोजनाले कम बिजुली उत्पादन गरे पनि प्रसारण लाइन भने चौबीसै घण्टा उपलब्ध राख्नुपर्छ र त्यसको निर्माण तथा सञ्चालनमा लागेको खर्च पनि निरन्तर व्यहोर्नुपर्छ।
यस्तो अवस्थामा क्षमताका आधारमा हरेक महिना प्रसारण शुल्क तिर्नुपर्ने व्यवस्था हुँदा आयोजनाको उत्पादन घटेको समयमा प्रत्येक युनिट बिजुलीमा पर्ने प्रसारण खर्च स्वाभाविक रूपमा बढ्छ। यद्यपि मेगावाटका आधारमा शुल्क लगाउनु गलत हो भन्न मिल्दैन, किनकि प्रसारण प्रणालीको ठुलो हिस्सा स्थिर प्रकृतिको लागतमा आधारित हुन्छ। तर, नेपालको जलविद्युत्को मौसमी उत्पादन र आयोजनाअनुसार फरक पर्ने क्षमताको उपयोगलाई बेवास्ता गरेर सम्पूर्ण शुल्क उत्पादकमाथि राख्दा त्यसको आर्थिक भार भने उल्लेख्य हुन सक्छ।
यसलाई एउटा साधारण उदाहरणबाट बुझ्न सकिन्छ:
१०० मेगावाटको आयोजना, ५५ प्रतिशत क्षमताको उपयोग (नेपालको अनुमानित Plant Factor):
- वार्षिक उत्पादन = १०० मेगावाट × ८,७६० घण्टा × ५५ प्रतिशत = ४८,१८,००,००० युनिट (४८१.८ मिलियन युनिट)
- प्रसारण शुल्क (नियमन आयोगअनुसार) = रु. ४,१२,७५५ प्रतिमेगावाट प्रतिमहिना
- वार्षिक प्रसारण शुल्क = रु. ४,१२,७५५ × १०० × १२ = रु. ४९,५३,०६,०००/-
- प्रतियुनिट प्रभावकारी प्रसारण लागत = रु. ४९,५३,०६,००० ÷ ४८१.८ मिलियन युनिट = करिब रु. १.०३ प्रतियुनिट
यसलाई छोटो अवधिको रु. ०.५७ प्रतियुनिट प्रसारण शुल्कसँग तुलना गर्दा फरक प्रस्ट देखिन्छ। तर, यसबाट क्षमतामा आधारित शुल्क नै गलत हो भन्ने निष्कर्ष निकाल्नु पनि ठीक हुँदैन। फरक यति हो कि एउटै शुल्कले आयोजनाले कति विद्युत् उत्पादन गर्छ भन्ने वास्तविकतालाई पनि ध्यान दिनुपर्छ। जलविद्युत्को उत्पादन घटेको समयमा निश्चित क्षमता शुल्कको भार प्रत्येक युनिटमा बढी पर्नु स्वाभाविक हो। त्यसैले प्रसारण शुल्क निर्धारण गर्दा शुल्कको अंक मात्र हेरेर पुग्दैन; त्यसले आयोजना विकास, ऋण भुक्तानी, विद्युत् खरिदबिक्री र अन्ततः उपभोक्ताको मूल्यमा कस्तो प्रभाव पार्छ भन्ने पनि हेर्नुपर्छ।
तर यसको अर्को पक्ष पनि उत्तिकै महत्त्वपूर्ण छ। प्रसारण प्रणालीको सम्पूर्ण खर्च उत्पादकमाथि राखेर बाँकी सबै पक्षलाई त्यसबाट अलग राख्नु पनि उचित हुँदैन। प्रसारण लाइन कुनै एउटा जलविद्युत् आयोजनाको मात्र पूर्वाधार होइन। यसले उत्पादन केन्द्रलाई बजारसँग जोड्छ, एक ठाउँको विद्युत् अर्को ठाउँमा पुर्याउँछ, विद्युत् व्यापारलाई सम्भव बनाउँछ, वितरण संस्थालाई विद्युत् उपलब्ध गराउँछ र ठुला उद्योग तथा अन्य उपभोक्तालाई भरपर्दो विद्युत् आपूर्तिको आधार दिन्छ।
राष्ट्रिय प्रसारण सञ्जाल विस्तार भएपछि त्यसको लाभ एउटा आयोजनाले मात्र होइन, पूरै प्रणालीले पाउँछ। त्यसैले यसको लागत पनि एउटै पक्षको काँधमा मात्र राख्नेभन्दा 'कसले कति लाभ लिन्छ र कसको कारणले कस्तो प्रसारण पूर्वाधार आवश्यक परेको हो' भन्ने आधारमा बाँडफाँट गर्नु बढी तर्कसंगत हुन्छ।
यसैलाई प्रसारण शुल्कको भविष्यको आधार बनाउन सकिन्छ। कुनै निश्चित आयोजनाको विद्युत् बजारसम्म पुर्याउन विशेष रूपमा निर्माण गरिएको प्रसारण लाइन हो भने त्यसको लागतको ठुलो हिस्सा सम्बन्धित आयोजनाले व्यहोर्नु स्वाभाविक हुन्छ। तर, राष्ट्रिय प्रसारण सञ्जाल भने सबै उत्पादन केन्द्र, वितरण संस्था, विद्युत् व्यापारी, ठुला उपभोक्ता र समग्र विद्युत् बजारका लागि साझा पूर्वाधार हो। त्यसैले त्यस्तो सञ्जालको लागत पनि साझा लाभ र वास्तविक उपयोगलाई ध्यानमा राखेर बाँडिनुपर्छ। यसमा लाभ प्राप्त गर्ने पक्षले उचित लागत व्यहोर्ने र जसको कारणले अतिरिक्त प्रसारण लगानी आवश्यक परेको हो, उसले त्यसको उचित हिस्सा व्यहोर्ने व्यवस्था क्रमशः विकास गर्न सकिन्छ।
नेपालमा खुला पहुँचको व्यवस्था विस्तार हुँदै जाँदा यो प्रश्न झन् महत्त्वपूर्ण हुनेछ। राष्ट्रिय प्रसारण सञ्जालमा विभिन्न उत्पादक, विद्युत् व्यापारी, वितरण संस्था र ठुला उपभोक्ताले समान आधारमा प्रवेश पाउने हो भने प्रसारण शुल्क पनि त्यहीअनुसार निष्पक्ष र पूर्वानुमान गर्न सकिने हुनुपर्छ। शुल्क धेरै भयो भने नयाँ जलविद्युत् आयोजनाको लागत बढ्छ र विद्युत् बजारमा प्रतिस्पर्धा गर्न कठिन हुन्छ। शुल्क अत्यन्त कम भयो भने प्रसारण पूर्वाधार निर्माण गर्ने संस्थाले ऋण तिर्न, प्रणालीको मर्मतसम्भार गर्न र नयाँ प्रसारण लाइन विस्तार गर्न आवश्यक आम्दानी जुटाउन सक्दैन। त्यसैले सही प्रसारण शुल्क भनेको कसैलाई खुसी पार्ने गरी कम वा बढी तोकिएको दर होइन; उत्पादक, उपभोक्ता र प्रसारण पूर्वाधारमा लगानी गर्ने संस्थाबिच उचित सन्तुलन कायम गर्ने दर हो।
यही कारणले अब प्रसारण शुल्कलाई एउटै दर र एउटै विधिबाट निर्धारण गर्नेभन्दा प्रसारण पूर्वाधारको प्रकृति, लगानीको स्रोत, जोखिम र त्यसबाट प्राप्त हुने लाभका आधारमा फरक–फरक रूपमा हेर्नुपर्ने देखिन्छ। राष्ट्रिय प्रसारण प्रणालीमा सबै प्रसारण आयोजना एउटै प्रकृतिका हुँदैनन्। सरकारले आफ्नै स्रोतबाट निर्माण गर्ने राष्ट्रिय महत्त्वका आयोजना, सार्वजनिक–निजी साझेदारीमा निर्माण हुने आयोजना र पूर्ण रूपमा निजी लगानीमा प्रतिस्पर्धात्मक प्रक्रियाबाट निर्माण हुने आयोजना सबैको लागत संरचना, जोखिम र लगानी फिर्ताको आवश्यकता फरक हुन्छ। त्यसैले यस्ता आयोजनाका लागि प्रसारण शुल्क पनि एउटै ढाँचामा राख्नु व्यावहारिक हुँदैन।
पहिलो, सरकारी लगानीमा निर्माण हुने राष्ट्रिय प्रसारण आयोजनाका लागि 'राष्ट्रिय साझा प्रसारण शुल्क' उपयुक्त हुन्छ। उदाहरणका रूपमा राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले निर्माण गरिरहेको कर्णाली करिडोरको ४०० किलोभोल्ट प्रसारण आयोजना लिन सकिन्छ। यस्तो आयोजना केवल कुनै एउटा जलविद्युत् आयोजनालाई बजारसम्म पुर्याउन निर्माण गरिएको पूर्वाधार मात्र नभई कर्णाली क्षेत्रको ठुलो जलविद्युत् सम्भावनालाई राष्ट्रिय प्रणालीमा जोड्ने रणनीतिक पूर्वाधार हो।
यसको लगानी सरकारले व्यहोरेको अवस्थामा शुल्क निर्धारण गर्दा तत्काल लगानी फिर्ता गर्नेभन्दा राष्ट्रिय प्रसारण प्रणालीको दीर्घकालीन लागत उठाउने, प्रणालीको क्षमता उपयोग बढाउने र नयाँ उत्पादनलाई प्रणालीमा प्रवेश गराउने पक्षलाई बढी महत्त्व दिनुपर्छ। यस्तो अवस्थामा साझा राष्ट्रिय प्रसारण सञ्जालका लागि क्षमता र ऊर्जा दुवैलाई समेट्ने मिश्रित शुल्क (Hybrid Model) उपयुक्त हुन सक्छ। प्रसारण प्रणालीका स्थिर लागतलाई क्षमताका आधारमा र वास्तविक उपयोगसँग सम्बन्धित लागतलाई विद्युत् प्रवाह वा ऊर्जाका आधारमा बाँड्ने व्यवस्था गर्न सकिन्छ। यसले एउटा आयोजनाले मात्र ठुलो भार व्यहोर्नुपर्ने अवस्था कम गर्छ र राष्ट्रिय प्रसारण सञ्जाल विस्तारको लाभ सम्पूर्ण विद्युत् प्रणालीमा बाँड्न मद्दत गर्छ।
दोस्रो, सार्वजनिक–निजी साझेदारीमा निर्माण हुने प्रसारण आयोजनाका लागि 'परियोजना विशेष शुल्क' आवश्यक हुन्छ। उदाहरणका रूपमा राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रस्तावित पश्चिम सेती ४०० किलोभोल्ट करिडोरलाई लिन सकिन्छ। यस्तो आयोजनामा सार्वजनिक तथा निजी पुँजी दुवै संलग्न हुने भएकाले यसको शुल्क निर्धारण राष्ट्रिय साझा प्रसारण शुल्कबाट मात्र गर्न पर्याप्त हुँदैन। परियोजनाको वास्तविक निर्माण लागत, ऋणको ब्याज, ऋण भुक्तानी अवधि, स्वपुँजीमा अपेक्षित प्रतिफल, सञ्चालन तथा मर्मतसम्भार खर्च, मार्गाधिकार र वातावरणीय लागत, निर्माण तथा सञ्चालन जोखिमजस्ता पक्षलाई समेटेर परियोजना विशेष आम्दानी सुनिश्चित गर्नुपर्ने हुन्छ।
यस्तो शुल्क विद्युत् बगेको प्रत्येक युनिटमा मात्र आधारित हुनुभन्दा सम्झौता गरिएको प्रसारण क्षमता र प्रसारण प्रणाली उपलब्ध राखेको आधारमा निर्धारण गर्नु बढी उपयुक्त हुन सक्छ। यसबाट निजी लगानीकर्ताले भविष्यको आम्दानीको स्पष्ट आधार पाउँछन् र ऋणदातालाई पनि परियोजनाको ऋण भुक्तानी क्षमता देखाउन सकिन्छ। तर, यस्तो शुल्क अत्यधिक महँगो भएर सम्बन्धित जलविद्युत् आयोजनाको उत्पादन लागत र बजार प्रतिस्पर्धामा प्रतिकूल असर नपर्ने गरी नियामकीय स्वीकृति र उचित जोखिम बाँडफाँट आवश्यक हुन्छ।
तेस्रो, पूर्ण रूपमा निजी लगानीमा प्रतिस्पर्धात्मक आधारमा निर्माण हुने प्रसारण आयोजनाका लागि भने अझ फरक शुल्क व्यवस्था आवश्यक हुन्छ। भविष्यमा प्रतिस्पर्धात्मक बोलपत्र वा अन्य प्रतिस्पर्धात्मक प्रक्रियाबाट निजी क्षेत्रले प्रसारण आयोजना निर्माण, सञ्चालन र स्वामित्व लिने व्यवस्था भएमा परियोजनाको शुल्क प्रतिस्पर्धाको परिणामबाट निर्धारण गर्न सकिन्छ। यस्तो अवस्थामा नियामकले पहिले नै लगानीको प्रत्येक लागत तोक्नेभन्दा परियोजनाले निश्चित प्रसारण क्षमता उपलब्ध गराएबापत मागेको वार्षिक शुल्क, सेवा उपलब्धताको स्तर, निर्माण सम्पन्न गर्ने समय, सञ्चालन तथा मर्मतसम्भारको जिम्मेवारी र सम्झौताको अवधिजस्ता आधारमा प्रस्तावको मूल्याङ्कन गर्न सक्छ।
सबैभन्दा महत्त्वपूर्ण कुरा, निजी लगानीकर्ताले विद्युत् उत्पादन कति भयो भन्ने अनिश्चिततामा मात्र आफ्नो आम्दानी निर्भर राख्नुपर्ने अवस्था हुनु हुँदैन। प्रसारण लाइन निर्माण गरिसकेपछि त्यो प्रणाली निर्धारित क्षमतामा उपलब्ध राख्नु नै मुख्य सेवा भएकाले उपलब्धता र सम्झौता गरिएको क्षमतामा आधारित निश्चित भुक्तानीको व्यवस्था बढी उपयुक्त हुन्छ। यसले निजी लगानी आकर्षित गर्न, ऋणको भुक्तानी सुनिश्चित गर्न र प्रसारण पूर्वाधार समयमै निर्माण गर्न सहयोग पुर्याउन सक्छ। साथै, यस्तो शुल्क प्रतिस्पर्धात्मक प्रक्रियाबाट तय भएकाले उपभोक्ता तथा विद्युत् उत्पादकमाथि अनावश्यक लागत नपर्ने गरी नियामकीय परीक्षण र दीर्घकालीन सम्झौताको व्यवस्था आवश्यक हुन्छ।
यसरी हेर्दा राष्ट्रिय प्रसारण शुल्कको भविष्य एउटै दरमा सीमित गर्नुभन्दा कम्तीमा यी तीन तहमा विकास गर्नु उपयुक्त देखिन्छ– सरकारी लगानीमा निर्माण हुने साझा राष्ट्रिय प्रसारण सञ्जालका लागि 'साझा तथा मिश्रित शुल्क', सार्वजनिक–निजी साझेदारीमा निर्माण हुने आयोजनाका लागि परियोजना लागत र सम्झौता क्षमतामा आधारित 'परियोजना विशेष शुल्क', र पूर्ण निजी लगानी तथा प्रतिस्पर्धात्मक प्रक्रियाबाट निर्माण हुने आयोजनाका लागि प्रतिस्पर्धाबाट निर्धारण हुने 'उपलब्धता तथा क्षमतामा आधारित शुल्क'। यी तीनवटै अवस्थामा नियामकले भने लागतको उचितता, सेवाको गुणस्तर, उपभोक्तामाथि पर्ने भार, विद्युत् उत्पादकको प्रतिस्पर्धात्मकता र प्रसारण पूर्वाधारमा लगानीकर्ताले प्राप्त गर्ने उचित प्रतिफलबिच सन्तुलन कायम गर्नुपर्छ। यसरी प्रसारण शुल्कलाई लगानीको स्रोत र आयोजनाको प्रकृतिअनुसार छुट्याउन सकियो भने एकातर्फ राष्ट्रिय प्रसारण पूर्वाधारमा सरकारी लगानीको उचित उपयोग हुन्छ भने अर्कोतर्फ सार्वजनिक–निजी साझेदारी र निजी लगानीमार्फत ठुलो परिमाणमा आवश्यक पर्ने नयाँ प्रसारण पूर्वाधार निर्माण गर्न पनि सहज वातावरण बन्न सक्छ।
अन्ततः प्रसारण शुल्कको बहस कुनै एउटा दर ठीक वा बेठीक भन्नेमा सीमित हुनु हुँदैन। यसको उद्देश्य प्रसारण कम्पनीलाई आम्दानी दिलाउनु मात्र पनि होइन र उत्पादकलाई थप भार पार्नु पनि होइन। मुख्य कुरा के हो भने उत्पादित विद्युत् प्रतिस्पर्धात्मक मूल्यमा बजारसम्म पुग्न सकोस्, उपभोक्तामाथि अनावश्यक भार नपरोस् र प्रसारण पूर्वाधार निर्माण तथा विस्तारका लागि आवश्यक लगानी निरन्तर जुटिरहोस्। नेपालमा विद्युत् उत्पादन तीव्र रूपमा बढ्दै गएको अवस्थामा प्रसारण सञ्जाल अब केवल बिजुली बोक्ने पूर्वाधार रहेन, यो विद्युत् बजार विस्तार गर्ने आधार बनेको छ। त्यसैले प्रसारण शुल्क पनि त्यही दृष्टिले हेर्नुपर्छ। उत्पादकलाई रोक्ने होइन, बजार विस्तार गर्ने; उपभोक्तामाथि अनावश्यक भार नपार्ने तर प्रसारण पूर्वाधारलाई आर्थिक रूपमा बलियो बनाउने हुनुपर्दछ। यही सन्तुलनले नेपालको आगामी विद्युत् बजारको दिशा निर्धारण गर्नेछ।